काठमाडौँःलुम्बिनी प्रदेश सरकारको नेतृत्वमा चेतनारायण आचार्यले नै निरन्तरता पाउने भएका छन् । नेकपा एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति पाएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि अन्ततः आचार्यलाई नै निरन्तरता दिने निर्णय भएको हो ।
मुख्यमन्त्रीका लागि आचार्यसँगै लिला गिरी, भूमिश्वर ढकाल र भोजप्रसाद श्रेष्ठले आकांक्षा देखाएका थिए । तर एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि आचार्यले आफूलाई नै निरन्तरता दिने निर्णय भएको बताएका छन् । प्रदेशसभाको कार्यकाल छोटो रहेको र बजेट पारित भइसकेको अवस्थामा नेतृत्व परिवर्तन गर्दा नकारात्मक सन्देश जाने भएकाले वर्तमान नेतृत्वलाई निरन्तरता दिइएको बताइएको छ ।
अब लुम्बिनीमा मन्त्री चयन र सत्ता समीकरण मिलाउने चुनौती भने बाँकी रहेको छ । सरकार गठनका लागि एमाले र नेकपाले साना दल वा स्वतन्त्र सांसदको समर्थन जुटाउनुपर्ने अवस्था छ ।






