काठमाडौँः पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको खोजीका क्रममा घटनास्थलबाट ४ जनाको शव फेला परेको छ ।
शवहरूको पहिचान भने अझै खुल्न सकेको छैन । अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानका अनुसार उद्धारकर्ता र आवश्यक सामग्रीसहितका हेलिकप्टर ब्रोड पिक क्षेत्रमा परिचालन गरिएको छ । स्थलगत उद्धार टोलीले हालसम्म ४ वटा शव फेला पारेको उनले इन्स्टाग्राममार्फत जानकारी दिएका छन् ।
हिमपहिरोमा विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाई)सहित १० सदस्यीय अन्तर्राष्ट्रिय टोली बेपत्ता छ । उद्धार टोलीले बेपत्ता आरोहीहरूको खोजीलाई तीव्र बनाएको जनाएको छ ।
बेपत्ता आरोहीहरूः
निर्मल पुर्जा (निम्स दाई) – नेपाल (टोली नेता)
पुरबहादुर गुरुङ (युक्ता) – नेपाल
किली पेम्बा शेर्पा (किलु) – नेपाल
निमा शेर्पा – नेपाल
नवाङ थिन्दु शेर्पा – नेपाल
नाधिरा अहमद अब्दुल्लाह अल हार्थी – ओमान
सोहेल साखी – पाकिस्तान
वाङ जोङ – चीन
मेलोरी गिस – अमेरिका






