काठमाडौँः सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन संरचना पुनसंरचना गर्ने तयारी गरेको छ । प्रस्तावित नयाँ संरचनाअनुसार मन्त्रालयको नेतृत्व अब एकजना सचिवले मात्र गर्नेछन् भने हाल रहेका १२औँ तहका अतिरिक्त स्वास्थ्य सचिवका पदहरू खारेज गर्ने प्रस्ताव गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत ओएन्डएम सर्वेक्षण प्रतिवेदनले मन्त्रालयको प्रशासनिक तथा प्राविधिक संरचना नयाँ ढाँचामा लैजान प्रस्ताव गरेको हो । नयाँ संरचनामा स्वास्थ्य मन्त्रालयका दुई र पुल दरबन्दीमा रहेको एक गरी तीनवटा अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत १२औँ तह) का पद हटाइने प्रस्ताव छ । साथै महाशाखा, शाखा र जनशक्ति व्यवस्थापनमा समेत व्यापक परिवर्तन गरिनेछ । प्रस्तावित संरचनामा मन्त्रालयअन्तर्गत चार प्रमुख महाशाखा रहनेछन् ।
नीति, योजना तथा अनुसन्धान महाशाखा, स्वास्थ्य–खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखा, जनस्वास्थ्य समन्वय तथा सूचना प्रविधि महाशाखा र प्रशासन महाशाखा रहने व्यवस्था गरिएको छ । नयाँ संरचनामा स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापनका लागि छुट्टै इकाई स्थापना गर्ने प्रस्ताव गरिएको छ । उक्त इकाईमा मेडिकल सुपरिन्टेन्डेन्ट, जनस्वास्थ्य अधिकृत र स्टाफ नर्सको दरबन्दी रहनेछ । यसैगरी डिजिटल स्वास्थ्य प्रणालीलाई प्राथमिकता दिँदै सूचना प्रविधि निर्देशक, ई–हेल्थ विशेषज्ञ, कम्प्युटर इन्जिनियर, वेब डेभलपर, तथ्याङ्क अधिकृतलगायत जनशक्ति राख्ने प्रस्ताव गरिएको छ ।
यसअघि रहेको जनसंख्या व्यवस्थापन महाशाखा भने खारेज गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित संरचनाअनुसार मन्त्रालयअन्तर्गत कुल १ हजार ८०६ पुल दरबन्दी रहने उल्लेख छ । सरकारले स्वास्थ्य सेवा, खाद्य स्वच्छता, औषधि नियमन, विपद् व्यवस्थापन र डिजिटल स्वास्थ्य प्रणालीलाई एकीकृत गर्दै मन्त्रालयलाई थप चुस्त, प्रविधिमैत्री र सेवा प्रवाहमुखी बनाउने उद्देश्य राखेको जनाएको छ ।






