काठमाडौँः विवादित पृष्ठभूमिका नेपाली कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित ठगी मुद्दा दायर भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा गिरीविरुद्ध मुद्दा दायर गरेको हो । उनीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बिगो मागदाबी गरिएको छ । व्यवसायी सुभाष श्रेष्ठले दिएको जाहेरीका आधारमा पक्राउ परेका गिरीमाथि अनुसन्धान गरिएको थियो ।
सीआईबीले गिरीले धम्की दिएर घरजग्गा, सवारीसाधन तथा अन्य सम्पत्ति कब्जा गरी ठगी गरेको आरोप लगाएको छ । अनुसन्धानका क्रममा श्रेष्ठको कम्पनीका चेक दुरुपयोग गर्ने, सवारीसाधन कवाडीमा बिक्री गर्ने तथा जग्गा कब्जा गरेको आरोपसमेत उल्लेख गरिएको छ ।
गिरी यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद भुक्तान गरी २०७९ चैतमा रिहा भएका थिए। पछिल्लो समय उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताइएको छ ।






