काठमाडौँः विराटनगरका उद्योगी घराना मुन्दडा समूहका सञ्चालक तथा नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य प्रकाश मुन्दडाको घरमा सोमबार बिहान प्रहरीले छापा मारेको छ । बिहान करिब पौने ५ बजेदेखि एक दर्जनभन्दा बढी सवारीसाधनमा पुगेको प्रहरी टोलीले करिब पाँच घण्टासम्म खानतलासी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङ र वडा प्रहरी कार्यालय (पुरानो जिल्ला प्रहरी कार्यालय)बाट करिब एक सय मिटर दूरीमा रहेको मुन्दडाको निवासमा प्रहरीले घरका सबै कोठा, भान्छा, दराज तथा अन्य स्थानमा विस्तृत रूपमा खोजतलास गरेको थियो । छापाका क्रममा प्रहरी टोलीले जिल्ला प्रशासन कार्यालय र गोल्छामोडतर्फबाट सडकसमेत बन्द गरी सर्वसाधारणको आवतजावत केही समयका लागि रोकेको थियो ।

मोरङ प्रहरीले गृह मन्त्रालयको निर्देशनमा अनुसन्धानका क्रममा खानतलासी गरिएको जनाएको भए पनि छापाको कारणबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन । जिल्ला प्रशासन कार्यालयले पनि यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । खानतलासीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उद्योगी प्रकाश मुन्दडाले प्रहरीले आफ्नो नियमित जिम्मेवारीअनुसार खोजतलास गरेको बताउनुभयो । उहाँका अनुसार घरको किचनदेखि प्रत्येक कोठा र दराजसम्म जाँच गरिए पनि कुनै पनि सामग्री बरामद भएको छैन । “उहाँहरूलाई कुनै जानकारी आयो, उहाँहरूले आफ्नो ड्युटी निर्वाह गर्नुभयो ।

हाम्रो घरको किचन, कोठा र एउटा–एउटा दराज सबै खोलेर हेर्नुभयो। कुनै सामान लैजानुभएन र क्लिन चिट दिएर जानुभयो,” मुन्दडाले भन्नुभयो । छापापछि नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका केही राजनीतिक दलका नेताहरू पनि मुन्दडाको घर पुगेका थिए । घटनापछि बाहिरिएका उद्योगी बेनीगोपाल मुन्दडाले पनि प्रहरीले घरबाट कुनै सामग्री फेला नपारेको र केही पनि बरामद नगरेको प्रतिक्रिया दिनुभयो ।

मुन्दडा समूहले बाबा आयल, जुट मिल तथा चाँदीका गहना उत्पादन गर्ने जेजे ज्वेलर्सलगायत विभिन्न उद्योग सञ्चालन गर्दै आएको छ । प्रहरीले भने छापाको उद्देश्य र अनुसन्धानको विषयबारे हालसम्म कुनै विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय