काठमाडौँः जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने र केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आज पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भारी वर्षाको सम्भावना छ भने कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनीका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । मङ्गलबार कोशी, बागमती, गण्डकी तथा मधेसका केही स्थानमा र बुधबार कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । विभागले काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका खोला तथा नदीमा उच्च जोखिम रहेको जनाइएको छ । त्यस्तै, ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सिन्धुपाल्चोक, चितवन, नवलपरासी लगायतका जिल्लाका नदी तथा खोलामा पनि बहाव बढ्ने सम्भावना रहेको छ ।
नदी किनार, होचा भूभाग र खोलानाला आसपास बसोबास गर्ने नागरिकलाई सतर्क रहन, आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन तथा मौसमसम्बन्धी सूचना नियमित पालना गर्न विभागले अनुरोध गरेको छ ।






