काठमाडौँः बसुन्धरास्थित साउदी अरबको ‘स्किल भेरिफिकेसन प्रोग्राम’ (एसभीपी) सञ्चालन गरिरहेको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट (आईटीआई) माथि कारबाही प्रक्रिया अघि बढ्ने भएको छ । संयुक्त अनुगमन टोलीको प्रतिवेदनका आधारमा युवा, श्रम तथा रोजगार मन्त्रालयले आईटीआईसँग स्पष्टीकरण मागेको छ । संस्थाको जवाफ अध्ययन गरेपछि थप निर्णय लिइने मन्त्रालयले जनाएको छ ।
अनुगमन प्रतिवेदनमा आईटीआईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट तालिम सञ्चालन अनुमति पाए पनि अनुमति बाहिर गएर वैदेशिक रोजगारीमा जाने श्रमिकको सिप परीक्षण तथा प्रमाणीकरण (स्किल भेरिफिकेसन) गरेको उल्लेख छ । मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार स्पष्टीकरणपछि आवश्यक कारबाहीका लागि प्रतिवेदन सीटीईभीटीमा पठाइनेछ ।
आईटीआईलाई वैदेशिक रोजगारीसम्बन्धी सिप प्रमाणीकरण गर्ने अधिकार नभएकाले उक्त कार्य रोक्न निर्देशन दिइने मन्त्रालयले जनाएको छ । यसअघि श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त टोलीले आईटीआईमा अनुगमन गरी कार्यालय सिलबन्दी गरेको थियो । अनुमति विपरीत सिप प्रमाणीकरण प्रमाणपत्र जारी गरेको गुनासोपछि गरिएको अनुगमनमा संस्थाले नियम उल्लंघन गरेको प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।
आईटीआईले भने श्रमिकसँग सिप परीक्षणका लागि कुनै शुल्क नलिएको दाबी गर्दै आरोप अस्वीकार गरेको छ । हालसम्म साउदी रोजगारीका लागि जाने १ हजार ५ सय ९८ जना श्रमिकले सिप परीक्षण गरेको जनाइएको छ ।






