काठमाडौँः कोशी प्रदेशमा गाँजा तस्करीका लागि एम्बुलेन्ससहित विभिन्न सवारीसाधनको प्रयोग बढेको छ । पछिल्लो समय धरानमा मात्रै दुई साताको अन्तरमा दुई एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
गत २९ वैशाखमा धरानको कोशी राजमार्गबाट ४४९ किलो र १३ जेठमा भेडेटारनजिकै रोकिएको एम्बुलेन्सबाट पनि गाँजा बरामद भएको थियो। दुवै घटनामा चालक फरार छन् । प्रहरीका अनुसार सुरक्षा जाँच कम हुने भएकाले तस्करहरूले एम्बुलेन्सको दुरुपयोग गरिरहेका छन् । पछिल्ला पाँच आर्थिक वर्षमा कोशी प्रदेशमा ७२ हजार किलोभन्दा बढी गाँजा बरामद भएको छ भने ८६३ जना पक्राउ परेका छन् । धनकुटा, भोजपुर, संखुवासभालगायत पहाडी जिल्लाबाट उत्पादन भएको गाँजा सुनसरी हुँदै भारततर्फ तस्करी हुने गरेको प्रहरीको भनाइ छ ।
एम्बुलेन्ससँगै सरकारी गाडी, ट्रक र निजी सवारीसमेत तस्करीमा प्रयोग भएको पाइएको छ । प्रहरीले तस्करी नियन्त्रणका लागि निगरानी बढाए पनि बदलिँदो शैली र संगठित सञ्जालका कारण चुनौती कायम रहेको जनाएको छ ।






