काठमाडौँः नेपाल शिक्षक महासंघले आफ्ना माग सम्बोधन गराउन आगामी भदौ महिनादेखि आन्दोलन गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । महासंघले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने तथा समसामयिक शैक्षिक र पेसागत माग सम्बोधन गर्नुपर्ने भन्दै १५ बुँदे निर्णय सार्वजनिक गरेको छ । महासंघका अनुसार शिक्षकका पेसागत अधिकार, सेवा–सुविधा र विद्यालय शिक्षासँग सम्बन्धित विभिन्न विषयलाई सम्बोधन गराउन सरकारमाथि दबाब दिन आन्दोलन गर्न लागिएको हो ।
तर आन्दोलनको औपचारिक मिति र थप कार्यक्रम भने अझै तय भएको छैन । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनको मिति, स्वरूप र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यदललाई दिइएको जानकारी दिनुभयो ।






