काठमाडौँः सर्लाहीमा धानबालीका लागि आवश्यक मलको अभाव हुँदा किसान समस्यामा परेका छन् । धान रोप्न बाँकी किसानले डिएपी र रोपिसकेका किसानले युरिया मल नपाउँदा घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था छ ।
कविलासी नगरपालिका–६, जमुनियामा पर्याप्त मल नपाएको भन्दै किसानले वडा कार्यालय घेराउ गरेका छन् । वडाध्यक्ष पुरुषोत्तम रायका अनुसार १४८ बोरा मल आवश्यक पर्ने सयौँ किसानका लागि निकै कम हो । मल वितरण गर्दा विवाद हुने अवस्था आएपछि डिलरसमेत बन्द गर्नुपरेको उहाँले बताउनुभयो । ईश्वरपुर नगरपालिका–१२, घारीबथानमा पनि युरिया मल लिन किसानको ठूलो भीड लागेको थियो ।
केही किसानले आधा बोरा मल पाए पनि धेरै जना रित्तो हात फर्किएका छन् । पर्याप्त वर्षा भएपछि यसपटक किसानले एकैपटक धान रोपेकाले मलको माग एकैसाथ बढेको हो । अनुदानको मल नपाएपछि किसानले कालोबजारीमार्फत महँगोमा भारतीय मलसमेत खरिद गर्नुपरेको गुनासो गरेका छन् । बागमती नगरपालिका–३ का किसान सञ्जय महतोले एक हजार रुपैयाँ पर्ने मल २ हजार ५ सय रुपैयाँमा किनेको बताउनुभयो । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङका डिलरमा मल आएको सूचना पाएलगत्तै किसानको भीड लाग्ने गरेको छ । कतिपय स्थानमा मल वितरणका लागि प्रहरीसमेत परिचालन गर्नुपरेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड, नवलपुर सर्लाहीका कार्यालय प्रमुख सरोज खनालका अनुसार वीरगन्जबाट थप मल ढुवानी हुन समय लागेकाले अभाव बढेको हो । उहाँले एक–दुई दिनमा थप मल आएपछि अभाव क्रमशः कम हुने बताउनुभएको छ ।






