काठमाडौँः दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित यलुङ–री हिमाल क्षेत्रमा पाँच वटा शव देखिएको स्थानीयले जानकारी दिएपछि खोजी तथा उद्धारका लागि हेलिकोप्टर पठाइए पनि खराब मौसमका कारण घटनास्थलसम्म पुग्न सकेको छैन । वडाध्यक्ष ङिमागेली शेर्पाका अनुसार गत शुक्रबारदेखि सिमीगाउँबाट हेलिकोप्टर उडाउने प्रयास भइरहेको छ । तर मौसम प्रतिकूल हुँदा शवको पहिचान र सङ्कलन हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय दोलखाले पनि पाँच वटा शव देखिएको जानकारी आए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको जनाएको छ । स्थानीयले देखेका शव गत वर्ष कात्तिक १७ गते यलुङ–री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पाँच विदेशी आरोहीको हुन सक्ने अनुमान गरिएको छ । त्यतिबेला सात जना बेपत्ता भएका थिए भने दुई जनाको शव भेटिएको थियो । लगातार हिमपात भएपछि बाँकी पाँच जनाको खोजी स्थगित गरिएको थियो ।
हिमपहिरोमा फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो बेपत्ता भएका थिए । अहिले हिउँ पग्लिएपछि उनीहरूको शव देखिएको हुन सक्ने भन्दै पुनः खोजी तथा उद्धारको प्रयास भइरहेको छ ।






