
काठमाडौं :- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराएर उठेका प्रश्नहरूको जवाफ दिन सभामुख डोलप्रसाद अर्यालसमक्ष रुलिङको माग गरेको छ।
आज बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रेनुका काउचाले संसद्मा निरन्तर उठिरहेका सीमासम्बन्धी प्रश्न र अन्य महत्त्वपूर्ण विषयमा प्रधानमन्त्रीले अनिवार्य जवाफ दिनुपर्ने बताएकी हुन्।
संसद्मा बोल्दै सांसद काउचाले आफूहरूले प्रधानमन्त्री र सभामुख दुवै पदको गरिमा जोगाउन चाहेको स्पष्ट पारिन्।
“सभामुखसमक्ष आग्रह गर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्। हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौं,” सांसद काउचाले भनिन्, “हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन र सरकारलाई सफल बनाउन खोजिरहेका छौं।”
प्रधानमन्त्री एक्लै नभएको उल्लेख गर्दै उनले देश र राष्ट्रिय हितका मुद्दामा प्रतिपक्ष सधैं सरकारको साथमा उभिने प्रतिबद्धता समेत जनाइन्।
तर, संविधान र संसद्भन्दा माथि कोही नहुने कुरामा जोड दिँदै उनले भनिन्, “प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्नँ, मुलुकको हितमा अघि बढ्नुस्—प्रतिपक्ष साथमा उभिनेछ। तर संविधानभन्दा माथि कोही छैन। संसद्भन्दा ठूलो राजनीतिक मञ्च छैन र राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन। केवल सचिवालयले मात्रै देशको शासन चल्दैन ।”
उनले विशेष गरी दैनिकजसो संसद्मा उठिरहेको सीमासम्बन्धी प्रश्नमा प्रधानमन्त्री स्वयं उपस्थित भएर प्रष्टीकरण दिनुपर्ने माग दोहोर्याइन्।






