काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्ववियु चुनाव नजिकिँदै गर्दा चुनावी माहोल तातेको छ । उम्मेदवारहरू आ–आफ्ना एजेन्डासहित प्रचारमा जुटिरहेका बेला अखिल (क्रान्तिकारी) का सदस्य विवेक जङ्ग शाही ले परम्परागत नेतृत्व हटाएर नयाँ धारालाई अघि बढाउनु पर्ने आवश्यकता औंल्याएका छन् ।

शाहीका अनुसार, राजनीति बुझ्न केवल अनुभव नै नभई अध्ययन पनि जरुरी हुन्छ, त्यसैले युवाहरूलाई राजनीतिमा अवसर दिनुपर्छ। “नेताहरू आफैंलाई राम्रो भन्न पछि पर्दैनन्, तर वास्तविक मूल्यांकन मतदाताले नै गर्ने हो,“ उनले भने ।

शाहीले लामो समयदेखि त्रिचन्द्र क्याम्पसको नेतृत्व एउटै संगठनको हातमा रहेको तर खासै सुधार नभएकाले नयाँ धाराका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको तर्क गरेका छन् । उनका अनुसार, “क्याम्पसको भविष्य मतदाताकै हातमा छ, त्यसैले सचेत भएर सही उम्मेदवार चयन गर्न जरुरी छ ।“

उनले विशेष रूपमा नियमित विद्यार्थी उम्मेदवारहरूलाई समर्थन गर्न आग्रह गरेका छन्। उनका अनुसार, “धेरै उम्मेदवार वर्षौंदेखि पदको लोभमा मौका खोजिरहेका छन्। यस्ता उम्मेदवार चुनाव जिते भने कार्यकाल पूरा गरी क्याम्पस छोडेर जान्छन्, जसले उनीहरूको जवाफदेहिता समाप्त हुन्छ। तर, नियमित विद्यार्थीहरू क्याम्पसमै रहन्छन्, जसले गर्दा उनीहरू जवाफदेही रहन्छन् । “

शाहीका अनुसार, लोकतन्त्रले सधैं परिवर्तनको माग गर्छ, त्यसैले यसपटक पुरानो सत्ता भत्काएर नयाँ नेतृत्वलाई अवसर दिन जरुरी छ ।

“त्रिचन्द्र क्याम्पसमा १९७५ देखि २०६५ सम्म एउटै संगठनको कब्जा रह्यो, तर सुधारका प्रयास देखिएनन्। अब पुरानो सत्ता तोडेर नयाँ धाराका उम्मेदवारलाई जिताउने समय आएको छ,“ उनले थपे ।

स्ववियु चुनाव नजिकिँदै गर्दा विद्यार्थीहरूबीच कसलाई समर्थन गर्ने भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ। परम्परागत संगठनहरूबीचको प्रतिस्पर्धा र नयाँ नेतृत्वको खोजीले यसपालिको चुनाव विशेष र निर्णायक हुने संकेत देखिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय