काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले आफस्लाई नेकपा (एकीकृत समाजवादी) मा जानबाट रोक्न एमालेले पार्टीमा ल्याउन प्रस्ताव गरेको बताएका छन् ।
बुधवार राष्ट्रिय सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । औपचारिक निर्णय नभएपनि जाने पक्कापक्की भइसकेपछि प्रस्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उनको भनाइ छ ।
गौतमले अब तत्काल कुनैपनि पार्टीसँग एकीकरण नगर्ने समेत बताए । उनले आफ्नो अभियानको परिमार्जन गर्दै ठूला कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने बताए ।
जनतामार्फत कम्युनिष्ट एकता गर्ने अभियान पुरानो भइसकेको भन्दै अब अभियान नभई व्यक्तिगत प्रयत्न रहने उनको भनाइ छ । गौतम समाजवादीमा जाने चर्चा चलेपछि एमालेले उनलाई पार्टीमा भित्र्र्याउने भनेपनि पछि भित्र्र्याएन ।






