काठमाडौं । मधेश केन्द्रित दलहरूको मोर्चा घोषणा नहुँदै विवादमा परेको छ । सात दलमार्फत संयुक्त मोर्चा घोषणा हुनेगरी बिहीबारका लागि कार्यक्रम तय गरिएको छ ।
बिहीबार ३ बजे ‘संघीय लोकतान्त्रिक मधेशी मोर्चा’ घोषणा गर्न लागिएको हो ।
उक्त घोषणा सभाप्रति आपत्ति जनाउँदै अशोक राईले नेतृत्व गरेको जसपा सहभागी नहुने भएको छ । मोर्चाको नेतृत्वको संसदमा भएको शक्तिको आधारमा हुनुपर्ने जसपा र जनमतको तर्क छ ।
मोर्चाको नेतृत्वमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अघि सारिएको छ । सात दलमा रहेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि मोर्चाको घोषणा सभाप्रति असन्तुष्टि जनाएको छ ।
उपेन्द्रले नेतृत्व गरेको जसपा नेपालभन्दा संसद्मा जसपा र जनमतको सांसद संख्या बढी रहेका नेतृत्वप्रति उनीहरूले प्रश्न उठाएका छन् । प्रतिनिधिसभामा जसपाको ७, जनमतको ६ र जसपा नेपालका ५ सांसद छन् । मधेश केन्द्रित दलहरूको मोर्चामा तेस्रो स्थानमा रहेको जसपा नेपालबाट नेतृत्व लिने भएपछि किचलो उत्पन्न भएको हो ।
मोर्चाको उद्देश्य स्पष्ट नभएको जसपाका महासचिव इस्तियाक राईले बताए । जसपाले मोर्चाभित्र रहेको ठूलो दलले नेतृत्व गर्नुपर्ने र त्यसो हुन नसके आलोपालोको प्रस्ताव राखेको थियो । जसपाले राखेको प्रस्ताव अस्विकार गरेपछि उक्त दल सहभागी नहुने भएको हो ।
कुनै व्यक्तिलाई स्थायी नेता बनाउनकै लागि जसपा भोलिको कार्यक्रममा सहभागी नहुने राईले बताए । हृदयश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशीलका नेता शिवजी यादवले जसपालाई आमन्त्रण गरिएको तर शर्त राखेकाले सहभागी हुने अवस्था नरहेको उनले सुनाए ।
मोर्चाको आडमा उपेन्द्र यादवलाई मूल नेता स्विकार गर्न नसकिने अर्को दल जनमतको भनाइ छ । जसपा कार्यक्रममा सहभागी नहुने भएपछि सात दलमा सबैभन्दा ठूलो दलको स्थानमा जनमत हुन्छ ।
सबैभन्दा ठूलो दललाई अवमूल्यन गर्नेगरी जसपा नेपालसहित अरु दललाई माथिल्लो स्थान दिएको उल्लेख गर्दै जनमत पार्टीका एक शीर्ष नेताले भने, ‘यो मोर्चाको नेतृत्व जनमत पार्टीले गर्न नपाउनेगरी अवमूल्यन गरिन्छ भने हामी त्यो घोषणा सभामा किने जाने ?’
आठ दलमा जसपा, जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तमलोपा छन् । राष्ट्रिय मुद्दामा मधेश केन्द्रित दलहरूको साझा धारणा तय गर्न, पार्टी एकीकरण लगायत संवाद गर्न ती दलले कार्यदल बनाएका थिए ।
आठ दलको कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनीष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजी यादव, तमलोपाबाट ब्रजेश सिंह छन् ।
आठ दलको संयुक्त कार्यदल गठन गर्नुअघि दलीय संवादका लागि प्रत्येक दलले कार्यदल बनाएका थिए ।






