
किर्तिपुर, जेठ १७ — किर्तिपुर नगरपालिका–१५ स्थित देबढोका क्षेत्रको इन्द्रायणी आधारभूत विद्यालयमा ‘सक्रिय साथ’ नामक संस्थाको आयोजनामा तथा किर्तिपुर नगरपालिका शिक्षा शाखा र विद्यालयको सहजीकरणमा एक विशेष अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
‘अभिभावकत्व : एक स्नेहपूर्ण यात्रा’ शीर्षकमा आयोजित सो तीन घण्टे कार्यक्रमले विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकहरूसँग सजीव संवादमार्फत अभिभावकत्वका विविध पक्षमा ध्यान केन्द्रित गर्यो। कार्यक्रममा विद्यालयका झन्डै ३० जना अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका सहजकर्ताहरूले बालबालिकाको विभिन्न उमेर चरणअनुसार अभिभावकहरूले देखाउनुपर्ने व्यवहार, माया, अनुशासन र जिम्मेवारीका विषयहरूमा प्रस्ट जानकारी दिएका थिए। विशेषतः,
०–५ वर्ष: बालबालिकालाई स्नेह र संरक्षण प्रदान गर्ने,
६–१० वर्ष: आचरण, व्यवहार र अनुशासनबारे मार्गदर्शन गर्ने,
११–१६ वर्ष: उत्तरदायित्व र निर्णय क्षमताको विकासमा अभिभावकीय सहयात्रा कायम राख्ने
बारे सैद्धान्तिक र व्यवहारिक छलफल गरिएको थियो।
कार्यक्रमको संयोजन किर्तिपुर नगरपालिका शिक्षा शाखाबाट विद्यालय निरीक्षक श्रीमती कमला पोखरेलले गर्नुभएको थियो भने ‘सक्रिय साथ’ संस्थाबाट श्री राजु जोशीले सहसंयोजन गर्नुभएको थियो।
कार्यक्रमका अन्त्यमा सहभागी अभिभावकहरूले बालबालिका संग कसरी प्रभावकारी ढंगले संलग्न हुन सकिन्छ भन्ने कुरामा आफ्नो धारणा राख्दै कार्यक्रमप्रति संतोषजनक प्रतिक्रिया व्यक्त गरेका थिए। उनीहरूले अभिभावकत्वको यात्रामा यस्ता कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताएका छन्।