
अमृत खनाल
२०५८ साल जेठ १९ गतेको रात।
नेपालको इतिहासको पानामा गहिरो रगतले लेखिएको एउटा यस्तो दिन,
जहाँ एकैछिनमा सिंगो राजसंस्थाको हृदय चिरिएको थियो।
त्यो केवल एक पारिवारिक दुर्घटना थिएन, त्यो केवल युवराजको आवेगात्मक कृत्य थिएन—
त्यो गहिरो सन्देह, रणनीति, र सत्ताको दुरुपयोगको सिलसिला थियो,
जसको साँचो अझैसम्म नेपाली जनताले पाउन सकेका छैनन्।
वीरेन्द्र परिवारको सामूहिक हत्या : संयोग कि सुनियोजित?
वीरेन्द्र — एक लोकप्रिय राजा।
शान्त स्वभाव, जनतासँग आत्मीयता, र प्रजातन्त्रप्रति झुकाव।
जनताले उनलाई ‘राजा’ भन्दा बढी ‘जनता पक्षधर’ शासकको रूपमा हेर्थे।
तर त्यस रात, उनीसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमारी श्रुति, कुमार निराजन—
सबैको जीवन, दरबारभित्रै निर्मम रूपमा अन्त्य भयो।
जसरी परिवारका सबै सदस्य क्रमशः मारिए—
तर ज्ञानेन्द्र र उनका निकटवर्तीहरू भने घटनास्थलमा नहुँदा पनि सुरक्षित रहन पुग्नुलाई
सङ्कटको संयोग मात्र मान्न सकिन्छ कि रणनीतिक योजना?
त्यतिबेला उठेका प्रश्नहरू अझै बाँकी छन्।
छानबिन होइन, समापनको प्रवृत्ति
घटनाको भोलिपल्ट नै कोमामा रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो।
तर तीन दिनमै उहाँको पनि निधन भयो।
त्यसपछि सिंहासन चढे ज्ञानेन्द्र।
यसपछि सुरु भयो प्रमाण मेटाउने दुःखद शृङ्खला।
घटनास्थललाई तत्काल सफा गरियो, गोली लागेका कपडाहरू जलाइयो।
दरबारको त्यो ऐतिहासिक कोठा—जुन सयौं प्रश्नको उत्तर दिन सक्थ्यो—
भत्काइयो।
छानबिनका लागि गठन गरिएका समिति—
ज्ञानेन्द्र निकट व्यक्तिहरूको नेतृत्वमा,
न त अन्तर्राष्ट्रिय फोरेंसिक विशेषज्ञहरू बोलाइयो,
न त पीडित परिवारका सदस्यहरूलाई स्वतन्त्र रूपमा बोल्न दिइयो।
प्रमाणको अभावमा युवराज दीपेन्द्रलाई हत्यारा करार गर्ने निर्णय,
त्यही छानबिन समितिबाट सार्वजनिक गरियो,
जसको निष्पक्षता नै सन्देहको घेरामा रह्यो।
सम्पत्तिको हस्तान्तरण र पारिवारिक दमन
राजा वीरेन्द्र परिवारका नाममा रहेका सम्पूर्ण बैंक खाता, सम्पत्ति र गहना—
केवल केही दिनमै ज्ञानेन्द्र पक्षमा सारियो।
राजकुमारी श्रुतिलाई दिइएको दाइजोसमेत खोसियो।
घटनामा बचेकी अन्य सदस्यहरू—जसले सम्भवतः केही बोलेलान् भन्ने शंका थियो—
उनीहरूलाई विशेष हेलिकप्टरमार्फत रारातर्फ लगियो।
रारा त्यो समय ‘शाही निर्वासनको’ पर्याय जस्तै बनेको थियो।
अर्को इतिहास बन्द गरियो : नमिता–सुनिता काण्ड
ज्ञानेन्द्रको शासनकालमा अर्को विवादास्पद निर्णय लिइयो—
पञ्चायतकालको बहुचर्चित नमिता–सुनिता बलात्कार तथा हत्याकाण्डमाथिको सम्भावित अनुसन्धान पूर्णरूपमा बन्द गरियो।
सार्वजनिक दृष्टिमा भुलाइसकेको भए पनि,
यो मुद्दाले पनि दरबारभित्रका शक्तिशाली अनुहारहरूलाई चुनौती दिने सम्भावना बोकेको थियो।
त्यसैले, बिना न्याय, बिना उत्तर—मामला बन्द गरियो।
जनताको मौनता र आन्तरिक विद्रोह
सत्ता बलले लिइएको थियो, तर जनताको मन सधैंको लागि गुमेको थियो।
जनताले ज्ञानेन्द्रलाई राजा स्वीकार गरेनन्।
२००७ सालमा समेत उनी अस्वीकारित थिए—
२०५८ को रातपछि त जनताको नजरमा उनी सन्देहको पात्र बनिसकेका थिए।
घरघरमा जनताले गुनगुनाइरहे—
“भन्नु पो बाँकी छ, थाहा त सबैलाई छ।”
सत्ता सधैं सत्यसँग मेल खाँदैन भन्ने कुरा त्यो रातबाट स्पष्ट भएको थियो।
लिगलिगकोटदेखि जनआन्दोलनसम्म
नेपाली राजतन्त्रको आरम्भ लिगलिगकोटबाट भएको मानिन्छ—
जहाँ दौड जित्ने साहसी व्यक्ति राजा बन्ने परम्परा थियो।
तर समयक्रममा त्यो परम्परा षड्यन्त्र र शक्ति–राजनीतिले विस्थापित गर्यो।
निहत्था प्रतिस्पर्धीहरूको टाउको टेक्दै सिंहासनमा पुग्ने प्रवृत्तिको परिणाम
जनताले २०६२/६३ को जनआन्दोलनमार्फत उल्ट्याइदिए।
४५० वर्षपछि सिंहासन फेरि जनताको हातमा फर्कियो—
तर दरबारभित्रको त्यो रात अझै इतिहासको अध्यारो पाना बनेर बाँकी छ।
नेपालले गणतन्त्र अपनाइसकेको छ,
राजसंस्था इतिहास बनिसकेको छ—
तर इतिहासभित्रका केही यस्ता अध्याय छन्,
जुन नत मेटिन्छन्, नत बिर्सन सकिन्छ।
२०५८ को रात केवल एक घटना होइन,
त्यो न्याय नपाएका आत्माहरूको चिच्याहट हो।
ती चिच्याहटहरू अझै वायुमण्डलमा घुमिरहेछन्।
सत्य कहिल्यै हराउँदैन—
त्यो केवल प्रतीक्षामा रहन्छ,
बोल्ने जिव्रो, लेख्ने कलम र सुन्ने समाजको खोजीमा।