
काठमाडौं, असार — त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रत्येक शैक्षिक वर्षमा आफ्नो औपचारिक क्यालेन्डर प्रकाशन गर्छ। त्यसमा कक्षा सुरु हुने मिति, परीक्षा हुने समय, मूल्याङ्कन र नतिजा प्रकाशनको तालिका स्पष्ट उल्लेख हुन्छ। तर, यी मितिहरूको कार्यान्वयन कति प्रभावकारी छ? कति विद्यार्थीले समयमै पाठ्यक्रम सक्ने सुविधा पाएका छन्? यिनै प्रश्नहरूको जवाफ खोज्दा त्रिविको गहिरो समस्या सतहमा आउँछ।
विगत केही वर्षयता शैक्षिक क्यालेन्डर कागजमा मात्र सीमित हुँदै आएको छ। यसको मुख्य कारण विश्वविद्यालयभित्रको व्यवस्थापकीय कमजोरी मात्र होइन, प्राध्यापकहरूको दोहोरो भूमिका र प्राथमिकताको विसङ्गति पनि हो।
प्राध्यापक क्याम्पसमा छैनन्, निजी कलेजमै छन्
हालै सुरु भएको शैक्षिक सत्र ११ को भर्ना प्रक्रियाको सन्दर्भमा त्रिवि अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थीहरू भर्ना लिन तयार छन्, तर कक्षामा अध्यापन गर्ने प्राध्यापकहरू भने भेटिँदैनन्।
विशेषगरी त्रि–चन्द्र क्याम्पस, पाटन क्याम्पस, राटो पुल लगायतका केन्द्रिय क्याम्पसका धेरै प्राध्यापकहरू उपत्यकाका ठूला निजी कलेजहरूमा विभागीय प्रमुख, सेयर होल्डर वा पूर्णकालीन शिक्षकको रूपमा संलग्न छन्।
उदाहरणका लागि, त्रि–चन्द्र क्याम्पसका विभागीय प्रमुखहरू नै निजी कलेजहरूमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म नियमित कक्षा लिने गर्छन्। विश्वविद्यालयमा नियुक्त भएका, तलब भत्ता लिने, तर क्याम्पसको विद्यार्थीलाई समय दिन नसक्ने यथार्थ अत्यन्तै चिन्ताजनक छ।
कोर्स समयमै नसकिने, गुणस्तरमा गम्भीर असर
प्राध्यापकहरू निजी कलेजमा व्यस्त हुँदा त्रिवि क्याम्पसमा विद्यार्थीहरूको पाठ्यक्रम समयमै सकिँदैन, नियमित कक्षा चल्दैन, र परीक्षामा अधुरो तयारी लिएर विद्यार्थी सहभागी हुन बाध्य हुन्छन्। यसले पठन–पाठनको गुणस्तरमा मात्र होइन, विद्यार्थीको आत्मविश्वासमा समेत गहिरो असर पारिरहेको छ।
विद्यार्थीहरू समयमै स्नातक वा स्नातकोत्तर तह सकेर रोजगार वा उच्च अध्ययनतिर बढ्न चाहन्छन्, तर त्रिविको अकर्मण्यताले उनीहरूको समय, पैसा र भविष्य दुवै बर्बाद गरिरहेको छ। क्याम्पसहरूमा अध्यापन हुने वातावरण छैन, प्रशासन मौन छ, र विद्यार्थीहरू अन्योलमा छन्।
शैक्षिक सुधारका लागि कडा नीति आवश्यक
त्रिभुवन विश्वविद्यालयले क्यालेन्डर त प्रकाशन गर्छ, तर यसको कार्यान्वयन गराउने संयन्त्र कमजोर छ। अनुगमन छैन, उत्तरदायित्व छैन, न त कुनै कारबाही प्रक्रिया नै प्रभावकारी रूपमा अघि बढाइएको छ। यही कारणले निजी कलेजमा संलग्न प्राध्यापकहरू खुलेआम विश्वविद्यालयको जिम्मेवारीबाट विमुख भइरहेका छन्।
अब प्रश्न उठ्न थालेको छ —
“के त्रिवि केवल कागजी संस्था हो?”
“के शैक्षिक गम्भीरता नभएका यस्ता प्राध्यापकहरूको कारण हजारौं विद्यार्थीको भविष्य संकटमा पार्न मिल्छ?”
“कसले गर्छ विश्वविद्यालयभित्रको सुधार?”
शैक्षिक सुधारको कुरा भाषणमा मात्र सीमित राख्ने होइन, अब व्यवहारमै देखाउने बेला आएको छ। विश्वविद्यालयले प्राध्यापकहरूको दोहोरो भूमिकालाई नियन्त्रणमा राख्न सक्ने नीतिगत हस्तक्षेप गर्नुपर्छ। अनुगमन समिति सक्रिय बनाइनुपर्छ। कक्षा लिने विवरण सार्वजनिक गरिनुपर्छ। विद्यार्थी, अभिभावक र समाजले पनि यस्ता विसंगतिप्रति अब आँखा चिम्लिराख्नु हुँदैन।
✍ अनुप खत्री
उपाध्यक्ष, अखिल (क्रान्तिकारी)
त्रि–चन्द्र क्याम्पस इकाई