टोरन्टो (स्कारबोरो), अगस्ट ३१ – सुदूरपश्चिम समाज क्यानडाले आइतबार स्कारबोरोस्थित मकवान पार्कमा देउडा र गौरा पर्वको भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थी, नयाँ आगन्तुक र स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाली लोक परम्पराको महत्वपूर्ण अंश देउडा नृत्य तथा गीतमार्फत कार्यक्रम झनै आकर्षक बनेको थियो। परम्परागत शैलीमा प्रश्न–उत्तरका आधारमा गाइने र नाचिने देउडाले उपस्थितलाई आफ्नै गाउँघरको परिवेशमा डुबाएको अनुभव दिलाएको सहभागीहरूले बताए। गौरा पर्वसँग जोडिएको यो परम्परा भगवान शिव–पार्वतीको पूजासँग सम्बन्धित हुने भएकाले भक्तिपूर्ण स्वरुपमा मनाइने गरिन्छ।

कार्यक्रमको संयोजन दिप केसीले, समन्वय भोज ल अफिसले र सञ्चालन विद्यार्थी आशु पाण्डेले गरेका थिए। सहभागीहरूले प्रवासमा बसेर पनि आफ्ना संस्कृतिलाई निरन्तरता दिन सक्नु गर्वको विषय भएको अभिव्यक्ति दिए।

सुदूरपश्चिम समुदायका प्रतिनिधि तथा क्यानडाका बैरिस्टर, सोलिसिटर एवं नोटरी पब्लिक भोजराज भट्टले सुदूरपश्चिम समाज क्यानडालाई केवल सांस्कृतिक संस्थामा सीमित नराखी विद्यार्थी र नयाँ आप्रवासीहरूको लागि मार्गदर्शक ‘हब’ को रूपमा उभिनुपर्नेमा जोड दिए। उनले यथार्थपरक सूचना र सहयोग पुर्‍याउने खालको पहल आवश्यक रहेको बताए।

नेपाली जनसम्पर्क समिति क्यानडाका वरिष्ठ उपाध्यक्ष निरन्जन थापाले समाजसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए भने समाजसेवी कर्ण बटालाले संस्थाले क्यानडाभरका नेपालीलाई एउटै छातामुनि ल्याउने आशा व्यक्त गरे। त्यस्तै, एनसीसीयस क्यानडाका अध्यक्ष डा. थामनाथ अधिकारीले आफ्नो संस्थामार्फत निरन्तर संस्थागत सहयोग रहने आश्वासन दिए।

कार्यक्रममा विभिन्न नेपाली संस्थाका प्रतिनिधिहरूले शुभकामना दिएका थिए। अन्त्यमा सहभागी सबैका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय