काठमाडौं, असार ६ । सत्य संवाद मिडिया प्रा. लि. को दोस्रो साधारण सभा आज काठमाडौंस्थित एन्ड्र्युज क्याफेमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष किर्तन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार ऋषि धमला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी युवा व्यवसायी प्रेम पनेरु, होटल व्यवसायी चन्दन थापा, संस्थाका सदस्यहरू तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरी आवश्यक निर्णयहरू पारित गरिएको थियो। सहभागीहरूले सत्य संवाद मिडियाले निष्पक्ष, सत्य र जिम्मेवार पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र जनउत्तरदायी सञ्चार माध्यमका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए।
प्रमुख अतिथि ऋषि धमलाले सत्य र विश्वसनीय पत्रकारिताको आवश्यकता झन् बढ्दै गएको वर्तमान अवस्थामा सत्य संवाद मिडियाले आफ्नो उद्देश्य अनुरूप निरन्तर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष किर्तन अधिकारीले उपस्थित सम्पूर्ण अतिथि, सदस्य तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाको प्रगति र सुदृढीकरणका लागि सबैको साथ, सहयोग र सुझावको अपेक्षा रहेको बताउनुभयो।
साधारण सभा सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो।






