काठमाडौँः भारतमा मल किन्न गएका सर्लाहीको बलरा–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा रिहा गर्न भारतीय अदालतले आदेश दिएको छ। बुधबार अदालतले दुवै जनालाई धरौटीमा छाड्न आदेश दिएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए ।

अदालतको आदेश आए पनि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेकाले उनीहरू बिहीबार मात्र रिहा हुने भएका छन् । अविनाशका अनुसार भारतको आधार कार्ड भएका दुई जना साक्षी बसेपछि मात्र रिहाइ प्रक्रिया पूरा हुनेछ । सुरेशप्रसाद र नागेन्द्रप्रसाद १७ असारमा भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाको सोनबर्षाबाट डीएपी र युरिया मल लिएर नेपाल फर्कंदै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट १८ असारमा उनीहरूलाई जेल चलान गरिएको थियो ।

उनीहरूको रिहाइको माग गर्दै दर्ता भएको निवेदनमाथि १५ साउनमा सुनुवाइ हुने तय भए पनि सम्बन्धित न्यायाधीश बिदामा बसेका कारण सुनुवाइ हुन सकेको थिएन । बुधबार भएको सुनुवाइपछि अदालतले दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय