काठमाडैँः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार गठनसम्बन्धी सत्ता समीकरण र राजनीतिक चलखेलमा सहभागी नहुने निर्णय गरेको छ ।
बुधबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने स्पष्ट पारे । उनले प्रदेश सरकार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले आपसी सहमतिमै गठन गर्नुपर्ने राप्रपाको धारणा रहेको बताए ।
लिङ्देनका अनुसार केही प्रदेशमा सरकार फेरबदलको विषयमा छलफल भए पनि राप्रपा त्यसमा संलग्न नरहेको र सहभागी हुने चाहना पनि नराखेको बताए । यद्यपि, भविष्यमा आवश्यक अवस्था आए उपयुक्त समयमा उपयुक्त निर्णय लिन अध्यक्षलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको उनले जानकारी दिए ।






