इटहरी : सुनसरीको इटहरीमा गएराति नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत सेउती पुल नजिकै धरानबाट इटहरीतर्फ जाँदै गरेको बा १ ञ १६५१ नम्बरको स्कारपियो गाडी राति साढे ११ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक धरान–१३ का बिर्ख राई र विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्यको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका धरान–२० का पदम राईको बिपी प्रतिष्ठानमै उपचार भइरहेको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।






