पिलुवा:बाराको निजगढमा मिटरब्याज पीडित र गृहमन्त्री सुधन गुरुङबीच ६ बुँदे मागका विषयमा वार्ता सम्पन्न भएको छ।
वार्ताका क्रममा गृहमन्त्री गुरुङले मिटरब्याजसम्बन्धी अध्ययनका लागि गठन गरिएका गौरिबहादुर कार्की, तेजबहादुर कार्की र बाबुराम रेग्मी आयोगका प्रतिवेदनहरू तत्काल सार्वजनिक गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री कार्यालयमा भइरहेको उच्चस्तरीय छलफलको निष्कर्ष आएपछि दुवै पक्षबीच तेस्रो चरणको वार्ता बस्ने सहमति भएको छ।
यसैबीच, मिटरब्याज पीडित आन्दोलनकी अभियन्ता लक्ष्मी घिमिरेले सरकारसँग लिखित सहमति नभए आन्दोलन नरोकिने र जनकपुरधामबाट सुरु भएको पैदल न्याय मार्च पुनः काठमाडौंतर्फ अघि बढ्ने चेतावनी दिनुभएको छ। मिटरब्याज पीडितहरूले फर्जी तमसुक खारेजी, विशेष न्यायाधिकरण गठन र विगतका सम्झौता कार्यान्वयन लगायतका ६ बुँदे माग राख्दै असार २५ गतेदेखि आन्दोलन सुरु गरेका हुन्।






