काठमाडौँ :सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको झन्डै ९४ प्रतिशत रासायनिक मल आपूर्ति गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार वार्षिक ६ लाख मेट्रिकटन मल आपूर्तिको लक्ष्य राखिएकोमा असार २४ गतेसम्म ५ लाख ६१ हजार ४ सय ९३ मेट्रिकटन मल आपूर्ति भएको हो ।
मल खरिदका लागि सरकारले २८ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । आपूर्ति भएको कुल मलमध्ये युरिया ३ लाख २७ हजार मेट्रिकटन, डीएपी २ लाख ३ हजार मेट्रिकटन र पोटास ३० हजार मेट्रिकटन भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, अघिल्लो वर्षको मौज्दातसहित असार २४ गतेसम्म ५ लाख १८ हजार २ सय ७८ मेट्रिकटन रासायनिक मल बिक्री भइसकेको छ । हाल देशभरका विभिन्न गोदाममा ९२ हजार ५ सय ९२ मेट्रिकटन मल मौज्दात रहेको छ भने झन्डै २ सय ८८ मेट्रिकटन मल ढुवानीका क्रममा रहेको कृषि मन्त्रालयले जनाएको छ ।






