काठमाडौँःसरकारले अब नयाँ व्यक्तिलाई करारमा नियुक्त नगर्ने निर्णय गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै आवश्यक जनशक्ति अबदेखि ‘पुल’मा रहेका करार कर्मचारीबाटै व्यवस्थापन गरिने जनाएको हो ।
नयाँ स्थापना भएका निकाय वा स्वीकृत रिक्त दरबन्दीमा करार कर्मचारी आवश्यक परे पनि नयाँ व्यक्ति नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ । मन्त्रालयका अनुसार आवश्यक कर्मचारीका लागि सम्बन्धित निकायले सामान्य प्रशासन मन्त्रालयमार्फत ‘पुल’मा रहेका करार कर्मचारी माग गर्नुपर्नेछ । त्यसपछि उनीहरूसँग करार सम्झौता गरी काममा खटाइनेछ । संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण स्वीकृत भएपछि पनि आवश्यकताअनुसार ‘पुल’का कर्मचारीलाई नै खटाउन सकिने व्यवस्था गरिएको छ ।
यसअघि करारका कर्मचारीहरूले आफूहरूलाई हटाउन लागेको भन्दै आन्दोलन गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले करार कर्मचारी हटाउने निर्णय नभएको स्पष्ट पारेपछि आन्दोलन स्थगित भएको थियो ।






