काठमाडौँःकेन्द्रबाट लज्जास्पद बहिर्गमन भोगेर रक्षात्मक बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक छटपटी र आक्रोश पोख्न सुरु गर्नुभएको छ ।

दुई–दुई पटक संसद विघटन गरेर बालुवाटारबाट बालकोट पुग्नुभएका अपदस्थ प्रधानमन्त्री ओलीका लागि अहिले प्रदेशका सत्ताहरू पनि एकपछि अर्को गर्दै हातबाट गुम्ने मोडमा पुगेका छन् । प्रदेश सरकारहरू ढल्ने पक्कापक्की भएपछि रन्थनिएका ओलीले एमालेलाई चौतर्फी एक्ल्याउने प्रयास भइरहेको भन्दै रोइलो गर्नुभएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले एमाले कसैको सहारामा मात्र उभिने कमजोर पार्टी नभएको दाबी गर्नुभयो। आफूहरूले ठूलो धक्का खाएको स्वीकार गर्दै उहाँले एमाले समाप्त भने नभएको जिकिर गर्नुभयो ।
हामीलाई एक्ल्याउने प्रयासहरू अझै बढी निरन्तर अघि बढिरहेकै छन् । हामीले धक्का खाएका छौं, धक्का खाएको हो, सिद्दिएको होइन । हामी यस्तो लहरो होइन, जसले अर्कालाई नसमातिकन उठ्नै सक्दैन । हामी एउटा स्वतन्त्र, दह्रो र विशाल वृक्ष हौं।

अरुको बलमा उभिएका होइनौँ, ओलीले भन्नुभएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको यो आक्रामक अभिव्यक्ति कुनै राजनीतिक रणनीति नभएर, प्रदेशको सत्ता एकाएक गुम्न लाग्दाको छटपटी र आसन्न राजनीतिक संकट लुकाउने असफल प्रयास मात्रै हो । अनुकूलता आउँदा हौसिने र प्रतिकूलता आउँदा निराश नहुने दाबी गर्ने ओलीले आफ्नै अहङ्कारका कारण पार्टी यो अवस्थामा पुगेको कुरा लुकाउन भने सक्नुभएको छैन । तर, ओलीले भने अझै पनि आफ्नै बुतामा चुनौतीहरूलाई पराजित गर्दै अघि बढ्ने खोक्रो दाबी गर्न छोड्नुभएको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय