काठमाडौँःसम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाको २ कम्पनीलाई दिएको भुक्तानीबारे अनुसन्धान जारी रहेको बताएको छ ।
भट्टसहित एमाले नेता विष्णु पौडेललगायतविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्दै विभागले देउवाको लगानी रहेको स्कालर इन्टरनेशनल प्रालि र डिजी हट प्रालिलाई २ करोड ६० लाख रुपैयाँ भुक्तानी दिएको विषयमा अनुसन्धान भइरहेको बताएको छ । विभागले अदालतमा बुझाएको अभियोगपत्रमा भट्टले कसुरबाट प्राप्त रकम ती कम्पनीलाई दिएको हुनसक्ने देखिएकाले थप अनुसन्धान गरिने उल्लेख गरेको छ । एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा जारी भएको आर्थिक ऐन, २०८२ मा एउटै करदातालाई फाइदा पुग्ने गरी कर छुट दिएको आरोपबारे पनि अनुसन्धान जारी राखिने विभागले जनाएको छ ।
विभागले बिहीबार भट्टसहित ६ व्यक्ति र १० कम्पनी गरी १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । अभियोगपत्रमा पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ भने उनको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्न माग गरिएको छ । विभागको आरोपअनुसार पौडेलले अर्थमन्त्री हुँदा पद र प्रभाव प्रयोग गरी श्रीराम टोबाको उद्योगको २० प्रतिशत सेयर भट्टको कम्पनीलाई हस्तान्तरण गर्न सहयोग गरेका थिए । साथै राजस्व अनुसन्धान, सुपारी आयातको कोटा र हिमालयन रि–इन्स्युरेन्सको लाइसेन्स प्रक्रियामा समेत भूमिका खेलेको दाबी अभियोगपत्रमा गरिएको छ ।






