काठमाडौँःसुनसरीसहित पूर्वी तराई–मधेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाका कारण धनुषाका निजी विद्यालयहरूले शुक्रबारदेखि तीन दिनका लागि पठनपाठन स्थगित गरेका छन् ।
हिसान धनुषा, एन–प्याब्सन, प्याब्सन र एम–प्याब्सन धनुषाले संयुक्त विज्ञप्ति जारी गर्दै साउन १५ देखि जिल्लाका आबद्ध सबै विद्यालय तथा क्याम्पस बन्द रहने जनाएको हो । विज्ञप्तिमा सुनसरीलगायतका घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ ।
विद्यार्थीको सुरक्षा र सहज आवागमनलाई ध्यानमा राख्दै पठनपाठन अस्थायी रूपमा स्थगित गरिएको जनाउँदै सम्बन्धित पक्षबीच संवादमार्फत विवाद समाधान र सामाजिक सद्भाव कायम गर्न आग्रह गरिएको छ । परिस्थितिमा सुधार आएमा साउन १८ गते सोमबारदेखि विद्यालय तथा क्याम्पस नियमित रूपमा सञ्चालन गरिने जनाइएको छ ।






