काठमाडौँ :- देशमा बढ्दै गएको बेथिति, दण्डहीनता र भ्रष्टाचार अन्त्यका लागि संसद्मा एउटा फरक र आक्रामक प्रस्ताव दर्ता भएको छ। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देश बिगार्ने फटाहा र भ्रष्टाचारीहरूलाई तह लगाउन सार्वजनिक रूपमै कोर्रा हान्ने कानुन बनाउनु पर्ने माग गरेका छन्।
मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले हालको कानुनी प्रक्रिया झन्झटिलो रहेको र सेटिङको भरमा चल्ने गरेको भन्दै कडा सजायको व्यवस्था अपरिहार्य भइसकेको दाबी गरे।
सांसद राईले संसद्मा सम्बोधन गर्दै अपराधीहरूलाई पक्राउ गर्ने, छानबिनको नाटक गर्ने र अन्त्यमा राजनीतिक तथा आर्थिक सेटिङमा उन्मुक्ति दिने प्रवृत्तिले देश बर्बाद पारेको आरोप लगाए।
“मेरो र तेरो नभनीकन फटाहाहरूलाई कर्यापझ्याप पारेर सार्वजनिक रूपमै कोर्रा हानौँ न१ त्यस्तो कडा कानुन बनाऔँ, कानुन बनाउने ठाउँ त यही संसद् त हो नि,” राईले आक्रोश पोखे।
उनले अपराधीहरूलाई माया गरेर, सोधपुछ गरेर वा सामान्य छानबिन गरेर मात्रै देशको बेथिति नसुध्रिने जिकिर गर्दै कोर्रा हान्ने सजाय नै अन्तिम विकल्प भएको बताए।
कोर्रा हान्ने प्रस्तावसँगै सांसद राईले देशको सुरक्षा व्यवस्था र प्रधानमन्त्रीको कार्यशैलीमाथि पनि गम्भीर प्रश्न उठाएका छन्। प्रधानमन्त्रीले छिमेकी मुलुकसँगको सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको उनको आरोप थियो।
राईले भने, “हामी कस्तो देशमा बाँचिरहेका छौँ, जहाँ देशको प्रधानमन्त्री आफैँले हामीले छिमेकीको सीमा मिचेका छौँ भन्दै हिँड्छन्रु यहाँ न सुरक्षा छ, न न्याय छ, न त नागरिकले सही सेवा सुविधा नै पाएका छन्।”
देशमा अहिले कोही पनि सुरक्षित नरहेको भन्दै उनले जनता मात्र नभई स्वयं जनप्रतिनिधिले समेत असुरक्षा महसुस गरिरहेको स्थिति पैदा भएको बताए।






