काठमाडौँ :दक्षिण अमेरिकी मुलुक कोलम्बियामा गएको पछिल्लो केही वर्षयताकै शक्तिशाली भूकम्पका कारण कम्तीमा १३२ जनाको मृत्यु भएको छ।
भूकम्पबाट ठुलो धनजनको क्षति भएपछि देशमा सङ्कटकाल घोषणा गरिएको छ। कोलम्बियाको भौगर्भिक सेवाका अनुसार चोको प्रान्तलाई केन्द्रविन्दु बनाएर ७ बजेर ३४ मिनेट जाँदा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। १०३ किलोमिटर गहिराइमा गएको सो भूकम्पको धक्का पश्चिम कोलम्बियाका सयौँ माइल दूरभित्र महसुस गरिएको थियो।
भूकम्पका कारण कयौँ भवनहरू भत्किएका छन् भने भग्नावशेषभित्र मानिसहरू पुरिएको आशङ्का गरिएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। भूकम्पबाट कफी उत्पादन क्षेत्रमा पर्ने पेरेइरा सहर सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ कम्तीमा ४० जनाको मृत्यु भएको र ६५ वटा भवन भत्किएका छन्।
यस्तै, काली सहरमा पनि ३२ वटा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। विपद्पछि प्रभावित क्षेत्रहरूमा रात्रिकालीन कर्फ्यु लगाइएको छ भने सुरक्षाकर्मी र उद्धार टोलीहरूले भग्नावशेषमा फसेकाहरूको खोजी कार्य तीव्र पारेका छन्।
भुकम्पले जनधनको क्षति भएपछि कोलम्बियामा संकटकाल घोषणा गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।






