काठमाडौं :- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै संसद्प्रति जवाफदेही हुन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता केसीले प्रधानमन्त्री एक्लै अगाडि बढ्न खोजेको हो वा राजनीतिक रूपमा एक्लै परेको हो भन्दै प्रश्न गरे ।
देश र जनताको हितका लागि सिंगो संसद् प्रधानमन्त्रीको साथमा रहेको उल्लेख गर्दै उनले संसद्को उपेक्षा नगर्न र संवैधानिक कर्तव्यको पालना गर्न सरकारको ध्यानाकर्षण गराए । लोकतन्त्रमा परिणाम मात्र नभई प्रक्रिया पनि पारदर्शी र लोकतान्त्रिक हुनुपर्नेमा उनले जोड दिए ।
बैठकमा बोल्दै सांसद केसीले वर्तमान सरकारका कतिपय राम्रा प्रयासहरू पनि हचुवा र विधिविहीन ढंगले अगाडि बढेको टिप्पणी गरे । उनले संवैधानिक निकायहरू कार्यपालिकाको लाचार छाया बन्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे ।
यसका साथै उनले सरकारको प्रतिबद्धता र कार्यान्वयनको अन्तरलाई लिएर पनि आलोचना गरे । सरकार गठन भएको १०० दिनभित्र १०० जना युवालाई विदेशबाट नेपाल फर्काउने भनी गरिएको प्रतिबद्धता कहाँ पुग्यो भन्दै उनले सरकारको कामकारबाहीमाथि प्रश्न उठाएका छन् ।






