नेपाली कांग्रेसको राष्ट्रिय भेलामा नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान सभापति दुजाङ शेर्पाले पार्टीभित्रको विवाद अन्त्य गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमा १५औँ महाधिवेशन गर्नुपर्ने माग गरेका छन्।
राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शेर्पाले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि गरिएको कारबाही तत्काल फिर्ता लिन नेतृत्वसँग आग्रह गरे।
‘आदरणीय नेताहरू गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही फिर्ता गरौँ । १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सुनिश्चित गरौँ,’ उनले भने।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यसमितिले थापा र शर्मामाथि कारबाही गरेको प्रसंग उठाउँदै शेर्पाले पार्टीभित्रको असहमति र विवादलाई थप नचर्काई बृहत् एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
शेर्पाले सभापति देउवा नेपाल फर्किँदा विमानस्थलमा पुगेर स्वागत तथा अभिवादन गर्न गगन थापा चुकेको टिप्पणीसमेत गरे। पार्टीका नेताबीच देखिने व्यवहार र संस्कारले कार्यकर्ता तथा जनतामा सकारात्मक सन्देश दिनुपर्ने उनको भनाइ थियो।
उनले कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता समेत कमजोर हुने दाबी गर्दै पार्टीको आन्तरिक एकता अहिलेको प्रमुख आवश्यकता भएको बताए। कांग्रेसलाई बलियो बनाउन सबै पक्षबीच संवाद, सहमति र एकताको वातावरण निर्माण गर्नुपर्ने उनको जोड थियो।
शेर्पाको अभिव्यक्तिले कांग्रेसभित्र नेतृत्व, महाधिवेशन र कारबाहीको विषयमा चलिरहेको बहसलाई थप चर्चामा ल्याएको छ।






