स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता बनाएका २१ वर्षीय सलिम मगर मृत अवस्थामा फेला परेका छन्।
पुतलीबजार नगरपालिका–३ बाडखोलाका मगरलाई बिहीबार राति करिब १० बजे ग.११ प. ८१८३ नम्बरको मोटरसाइकलसहित अरौदी खोलाले बगाएर बेपत्ता बनाएको थियो।
बेपत्ता मगरको खोजीका लागि सिंहसार्दुल गुल्म स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म वालिङबाट खटिएको टोलीले खोजतलास गरेको थियो।
खोजी गर्ने क्रममा मगरलाई आज दिउँसो करिब ३ः१५ बजे पुतलीबजार नगरपालिका–१३ गैरीजागर सातुपसलस्थित आँधीखोलामा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
टोलीले शवलाई खोलाबाट बाहिर निकाली आवश्यक मुचुल्का तयार गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






