काठमाडौँः सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्रीसहित नेकपा एमालेका चार मन्त्रीले शुक्रबार शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनीहरूले शपथ लिएका हुन् ।
यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिएका थिए । शपथ लिनेमा सन्तोष शर्मा थापा–सामाजिक विकास मन्त्री, चक्रबहादुर मल्ल–आर्थिक मामिला मन्त्री, दमन भण्डारी–भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बम–आर्थिक मामिला राज्यमन्त्री रहेका छन् । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमतिअनुसार भट्ट दुई दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।






