सुखी हुने होडमा मानिसका खुसीहरू मुर्झाएका छन्।
अन्तहीन सुखको अनिश्चित दौडमा लाग्दा मानिसका पलपलका खुसीहरू छुट्दै गएका छन्।
प्रविधि, सुविधा, सयल र विलासिताले भौतिकी उज्यालिए पनि अध्यात्म र स्वान्तसुखाय यो विघ्न धरमराएको छ मानवजातिको।
प्राकृतिक खुसीहरू छोडेर भौतिक सुखको पछि लागेपछि मानिसहरूको मौलिक हाँसो हराएको छ। देखिन्छन् त केवल कृत्रिम र बनावटी हाँसोहरू, कुटिल र धोकाधडीका अर्धनग्न अट्टहास,
अनि सामाजिक व्यवस्था र सभ्यताविरोधी जस्तो लाग्ने कथित मुस्कानहरू।
हामीले देखेको ती उन्मुक्त गाउँले हाँसो वास्तवमै निष्कपट र स्वस्थ थिए।
जहाँ ५ मुरी धान फल्ने खेतमा ६ मुरी फल्दा फक्रिएको किसानको हाँसो,
समयमै पानी आएर खेतीबाली लाउन पाउँदा उब्जेको किसानको आत्मविश्वास!
बाली थन्क्याएर एक वर्षको जोहो भएपछि निर्धक्क र स्वाभिमानका साथ पिँढी र आँगनमा देखिएको, तन्किएको छाती, चम्किलो आँखा, ठाडो शिरसहितका निर्दोष र स्वजीवी गाउँले शरीर देख्दा लाग्थ्यो, खुसीको पराकाष्ठाका मानकहरू हुन्।
निर्धक्क हाँस्न सक्छन् भने यिनीहरू नै सक्छन्।
तर सहर!
जहाँ पैसा तिरेर किन्छन् नक्कली हाँसोहरू।
डिस्को र बारमा देखिएको उल्लास र खुसीको विसर्जन त्यतिबेला हुन्छ, जतिबेला सेयरबजारको गिरेको सूचकांक पत्रिकामा हेरेर निधारमा पसिना आउँछ।
विलासी भवन र चिल्ला गाडीमा चढ्नेहरू, नेता, व्यापारी, अधिकारकर्मी, सम्भ्रान्तहरूको हाँसो चुरोटका सर्को र रक्सीको बोतलमा त्यतिबेला आत्मसमर्पण गर्छ, जतिबेला कालोबजारीको खेलमा, कमिसनको खेलमा, भ्रष्टाचारको खेलमा आफू कमजोर भएको अनुभव हुन्छ।
सडकमा देखिने ह्यान्डसम र सुन्दरीहरू…
लाग्छ!
तिनीहरू आफ्ना लागि होइन, अर्काका लागि हाँस्छन्। ती मानिसहरू एक चिम्टी हाँसोका लागि पैसाको खोलो बगाउँछन्, फेरि पनि अमिलो र कृत्रिम नै लाग्छन्।
टिका थाप्दा ठुलो मान्छे भएस्, ज्ञानी भएस्, विद्वान् भएस् भनेर आशीर्वाद दिने मान्यजनहरूले मौनव्रत लिन थालेको धेरै भइसक्यो!
ती मौन बसेर होस् या ध्वनि दिएर होस्, प्रकट होस् या अप्रकट, घर, घडेरी वा दौलतको आशीर्वाद दिइरहेका हुन्छन्!
सबै सबै सफलताको मापदण्ड घर र घडेरीमा पुगेर अन्त्य भएको छ।
सामान्य शिष्टाचारको सम्बोधन गरिसकेपछि तेर्सिने प्रश्न नै यही हुन्छ! घडेरी किन्नुभयो? घर बनाउनुभयो?
संस्कृतिहरूको अगुवा नै घरघडेरी संस्कृति भएको छ!
सबै सपनाहरूले घरघडेरीको प्राप्तिमा निर्वाण प्राप्त गर्छन्, सबै सिद्धान्त र नीतिहरूले घरघडेरीमा पुगेपछि मोक्ष प्राप्त गर्छन्।
मान्छे भएर मान्छेको लागि जिउन हजार सपना बोकेर सहर पसेको देशको कर्णधार कतिबेला घरघडेरीको कर्णधार हुने हो?
हत्केलामा मृत्यु राखेर गरिखानेको लागि लड्ने मान्छे कतिबेला सहरसँग मितेरी गाँस्ने हो?
मुखमा जनता, जनता भन्ने नेताहरू सहरमा जमिन, जमिन भनिरहेका छन्।
मर्दै गएका छन् संवेदनाहरू घरघडेरीको सपनाको दौडले चेपिएर।
सपना देख्ने स्वप्नकर्मीको मानसपटलमा घरघडेरीको भाइरस पसेर तिनले सपना देख्न छोडिसके। अरू त अरू, आफूलाई निमुखा र बहुसंख्यक जनताको मसीहा भन्नेहरू पनि घरघडेरी संस्कृतिबाट मुक्त हुन सकेका छैनन्।
के तिनीहरू जनसंख्या र भूगोल पढ्दैनन्? करिबन तीन करोड जनसंख्या भएको देशमा कति मानिस सहरमा बस्छन्, कति मानिस गाउँमा बस्छन्, नेपालमा कति गाउँ छन्, कति सहर छन्? अनि कसको आवाज बोल्दा बहुसंख्यकको हुन्छ? थाहा छ तिनीहरूलाई, तैपनि ती गाउँले आवाज बोल्दैनन्।
किनकि तिनका मानसपटलमा पनि घरघडेरीको भाइरस पसेको छ, तिनले पनि मुक्तिको सपना बेचेर घरघडेरीको सपना किनेका छन्।
रविन न्यौपाने
गङ्गाजमुना–६, धादिङ






