काठमाडौं । हमासले शव हस्तान्तरण गरेपछि इजरायलले प्यालेस्टिनी कैदीहरुलाई मुक्त गर्न सुरु गरेको छ ।
वेस्ट बैंकबाट प्यालेस्टिनीहरु मुक्त गरिँदा उनीहरुका आफन्तहरुले खुसियाली मनाएको देखिन्छ । युद्धको क्रममा मारिएका ४ इजरायलीको शव हमासले हस्तान्तरण गर्ने र त्यसको बदलामा ६ सय २५ प्यालेस्टिनीलाई इजरायलले मुक्त गर्ने सहमति भएको थियो । इजरायलले मुक्त गरेका प्यालेस्टिनीहरुलाई भेट्नेहरुको ठूलो भिड जम्मा भएको देखिन्छ ।
तर मुक्त भएकाहरु कोको हुन् र कहिलेसम्म कति जना प्यालेस्टिनी मुक्त भए भन्ने खुलिसकेको छैन । इजरायली अधिकारीहरुले वेस्ट बैंकको रामाल्लाह कल्चरल प्यालेसबाट प्यालेस्टिनीहरुलाई मुक्त गरेका छन् । उनीहरुलाई रेडक्रसले बसमा राखेर घरसम्म पु¥याउने व्यवस्था मिलाएको छ । हमासले युद्धमा मारिएका चार जनाको शव पनि रेडक्रसलाई जिम्मा लगाएको थियो ।
उनीहरु ४९ देखि ८५ वर्ष उमेर समूहका छन् । इजरायल र हमासबीच सन् २०२५ को जनवरी १५ मा युद्धविराम सहमति भएको थियो । युद्धविराम कार्यान्वयन भने जनवरी १९ देखि भएको थियो । युद्धविरामका तीन चरण अन्तर्गत पहिलो चरणमा बन्दीहरु रिहाइको काम भइरहेको छ । पहिलो चरण १ मार्चमा समाप्त हुनेछ ।






