सिरहा: सिरहाको गोलबजारमा स्कुल बस र मोटरसाइकल एक-आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत गोलबजार नगरपालिका वडा नम्बर-९ चोहर्वामा मे १ ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङ स्कुलको बस र म प्र ०१-००५ प ३४०६ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार पहिचान नखुलेका अन्दाजी २४ वर्षीय युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको स्कुल बस अचानक उत्तर गोविन्दपुरतर्फ मोडिने क्रममा सोही दिशाबाट आउँदै गरेको मोटरसाइकल बसमा ठोकिन पुगेको थियो ।

दुर्घटनामा मिर्चैया-५ का २४ वर्षीय शंख रिहान र १९ वर्षीय इम्तियाज राइन घाइते भएका छन् । घाइतेमध्ये टाउको, हात र खुट्टामा गम्भीर चोट लागेका रिहानलाई गोलबजारको लाइफ लङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । अर्का घाइते राइनको भने गोलबजारमै उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा परेको मोटरसाइकलमा तीन जना सवार थिए । मृतकको शवलाई अहिले मिर्चैया अस्पतालमा राखिएको छ भने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय