काठमाडौँ :संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि बाहिरिएको छ। बिहीबार एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक अशिम शाहलाई पत्र लेख्दै पार्टीका प्रतिनिधि भीष्म अधिकारीलाई औपचारिक रूपमा फिर्ता बोलाएको जानकारी दिनुभएको हो।

एमालेले उठाएका विषयहरूमा सरकारका तर्फबाट स्पष्ट जवाफ नआएकाले कार्यदलबाट बाहिरिनु परेको महासचिव पोखरेलले पत्रमा उल्लेख गर्नुभएको छ। वर्तमान संविधानको आधारभूत संरचना खल्बल्याउने उद्देश्य राखिएको र कार्यदलको काम-कारबाही सुरुदेखि नै संदिग्ध प्रकृतिको देखिएको एमालेको आरोप छ।

एमालेभन्दा अघि अन्य चार दलहरू— नेकपा (माओवादी केन्द्र/नेकपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चा पनि कार्यदलबाट बाहिरिइसकेका छन्। कार्यदलमा रहेका ती दलका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै बहसपत्र प्रक्रिया नै खारेज गर्न माग गरेका छन्। उनीहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नचलाउने प्रतिबद्धता संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठकबाटै तय हुनुपर्ने अडान राखेका छन्। नेपाली कांग्रेसले भने यस कार्यदलमा सुरुदेखि नै प्रतिनिधि पठाएको थिएन।

यसैबीच, प्रधानमन्त्रीको सचिवालयले भने केही सदस्यहरू बाहिरिए पनि कार्यदलले प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। सरकारले दिएको दोस्रो पटकको म्यादभित्रै प्रतिवेदन बुझाउने तयारी भइरहेको सचिवालयले उल्लेख गरेको छ। गत चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरेको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय