नयाँ दिल्ली : गएरातिदेखि परेको मुसलधारे वर्षाका कारण भारतको राजधानी नयाँ दिल्ली पूर्ण रूपमा अस्तव्यस्त र ठप्प भएको छ। लगातारको भीषण वर्षाले दिल्लीका अधिकांश भूभाग जलमग्न भएका छन् भने सडकहरू नदीजस्तै देखिन थालेका छन्। बाढी र डुबानका कारण यातायात सेवा पूर्ण रूपमा ठप्प हुनुका साथै जनजीवन नराम्ररी प्रभावित भएको छ।

यसैबीच, भारी वर्षाकै बीच दिल्लीको रोहिणी क्षेत्रमा एक हृदयविदारक दुर्घटना भएको छ। रोहिणी सेक्टर-१६ मा तीव्र गतिमा निर्माण भइरहेको एउटा ४ तले भवन वर्षाकै कारण अचानक गर्ल्यामगुर्ल्याम ढल्दा ३ जनाको दर्दनाक मृत्यु भएको छ। भवनको भग्नावशेषमा पुरिएका अन्य व्यक्तिहरूको उद्धारका लागि राष्ट्रिय विपद् व्यवस्थापन बल  र दमकलको टोलीले रातभर कडा अपरेसन चलाएका थिए।

सडकमा गाडी तैरिए, रुखहरू जरैदेखि उखेलिए

दिल्लीका विभिन्न स्थानबाट सार्वजनिक भएका भिडियो र तस्बिरहरूमा सडकको दयनीय अवस्था प्रष्ट देखिन्छ। मुख्य राजमार्ग र सडकहरूमा घुँडा-घुँडासम्म पानी जमेको छ भने सयौँ गाडीहरू पानीमा आधा डुबेर कछुवाको गतिमा गुड्न बाध्य छन्। निरन्तरको वर्षाले दिल्लीको ढल निकास प्रणाली (Drainage System) लाई पूर्ण रूपमा फेल गराइदिएको छ। तीव्र हावाहुरीसहितको वर्षाका कारण ठुलठुला रुखहरू जरैदेखि उखेलिएर सडकमा बजारिँदा किलोमिटरौँ लामो ट्राफिक जाम लागेको छ।

भारतीय मौसम विज्ञान विभागले दिल्ली र आसपासका क्षेत्रका लागि ‘रेड अलर्ट’ (उच्च सतर्कता) जारी गरेको छ। आज दिनभरि नै मेघगर्जन, चट्याङ र भीषण वर्षाको सम्भावना कायमै रहने भन्दै मौसमविद्हरूले सर्वसाधारणलाई सुरक्षित रहन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेका छन्। अहिले स्थानीय प्रशासन र नागरिक टोलीहरू सडकको अवरोध हटाउन र उद्धार कार्यमा जुटिरहेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय