काठमाडौँ :साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा स्विट्जरल्याण्डलाई अतिरिक्त समयमा ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १०औँ मिनेटमा ओलेक्सिस म्याक एलिस्टेरको गोलमार्फत अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो । तर, ६७औँ मिनेटमा स्विट्जरल्याण्डका ड्यान न्डोएले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
खेलको ७२औँ मिनेटमा स्विस स्ट्राइकर ब्रिल एम्बोलो दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्याण्ड १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीमा समेटिए पनि स्विट्जरल्याण्डले उत्कृष्ट डिफेन्स गर्दै अर्जेन्टिनालाई निर्धारित समयसम्म रोकेर राख्यो ।
अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समय (१२०+१ मिनेट) मा लाउटारो मार्टिनेजले काउन्टर अट्याकमा गोल गरेपछि अर्जेन्टिनाले ३–१ को जित सुनिश्चित गर्यो ।
अब सेमिफाइनलमा अर्जेन्टिनाले इङ्गल्याण्डको सामना गर्नेछ । इङ्गल्याण्डले यसअघि नै नर्वेलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।






