काठमाडौँट्ठ त्रिपुरेश्वर आत्मदाह प्रकरणमा ज्यान गुमाएका गणेश नेपालीको न्यायका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन र विशेष सम्बोधन गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खोजेको भन्दै काठमाडौँ परिसरको प्रहरी टोलीले प्रसाईंलाई विमानस्थलबाटै समातेर भक्तपुरस्थित उनको घर पुर्याएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सुरक्षा संवेदनशील क्षेत्रमा विना अनुमति कार्यक्रम गर्न खोजिएकाले उनलाई रोकेर घर पुर्याइएको दाबी गरिएको छ। प्रसाईंले आत्मदाह गरेका राइडसेयरिङ चालक गणेश नेपालीको विषयलाई लिएर विमानस्थलमै राज्यविरुद्ध विशेष सम्बोधनको तयारी गरेका थिए।
उता, घटनाको ४ दिन बितिसक्दा पनि सरकार र महानगरपालिकाको लाचारीका कारण गणेश नेपालीको शव त्रिवि शिक्षण अस्पतालको शवगृहबाट उठ्न सकेको छैन। पीडित परिवारले दोषी नगर प्रहरीलाई ज्यान मार्ने उद्योगमा जेल नहालेसम्म र मृतकलाई सहिद घोषणा नगरेसम्म शव नबुझ्ने अडान कायमै राखेका छन्। महानगरले ६ बुँदे अमूर्त आश्वासनको कार्ड फालेर पन्छिन खोजेको भन्दै माइतीघर र सडकमा आन्दोलन चर्किएकै बेला यो घटनाले नयाँ मोड लिएको छ।






