काठमाडौँः नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले अझ डरलाग्दो जोखिममा धकेलेको भन्दै आपत्ति जनाएका छन् ।
उनले सुकुमवासीको सुरक्षित व्यवस्थापन गर्छु भन्दै प्रधानमन्त्री बालेनले गरेको लक्ष्यमा पनि प्रश्न उठाएका छन् । उनले भने, ‘आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु– त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन ?’
उनका अनुसार जोखिमबाट जोगाउने नाममा विस्थापित गरिएका र सुकुमवासी नागरिकलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारले उनीहरूलाई अर्को अझ भयावह जोखिममा धकेलेको यथार्थ उजागर भएको छ ।
सुकुमवासी नागरिकलाई सुरक्षित आश्रयको आश्वासनले आज फेरि भोक, पानी, हिलो, अभाव र असुरक्षाबीच पीडादायी जीवन बिताउन बाध्य भएको आङ्देम्बेको भनाइ छ । उनले राज्यको गैरजिम्मेवारी, संवेदनहीनता र असफल शासनले सुकुम्बासी नागरिकसँग गरिएको सार्वजनिक प्रतिबद्धताको उदाहरण भएको बताएका छन्।
सरकारले प्रश्न उठाउने अधिकारसमेत निषेध गर्न खोजेको भन्दै आङ्देम्बेले आपत्ति जनाएका छन्। उनले भने ‘झन् दुःखद् र लज्जास्पद कुरा, त्यही होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरू माजिद अन्सारीसहितलाई बलपूर्वक नियन्त्रणमा लिइयो। म सोध्न चाहन्छु– लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो ?’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय