काठमाडौँ :आराध्यदेव पशुपतिनाथको नाममा रहेको १८ हजार रोपनीभन्दा बढी जग्गा भूमाफियाको कब्जामा परेको र देशका विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेको सनसनीपूर्ण तथ्य सार्वजनिक भएको छ।

पशुपति क्षेत्र विकास कोषले गठन गरेको जग्गा अध्ययन एवं छानबिन समितिको प्रतिवेदन अनुसार काठमाडौँ, सिन्धुपाल्चोक, मोरङ र सुनसरी लगायतका जिल्लामा पशुपतिनाथको जग्गा अवैध रूपमा भोगचलन भइरहेको देखिएको हो।

समितिका संयोजक एवं कोषका पूर्वसदस्यसचिव डा. मिलनकुमार थापाले राजनीतिक दबाब र भूमाफियाको सेटिङका कारण सम्पूर्ण जग्गा कोषमातहत ल्याउन नसकिएको बताएका छन्। प्रतिवेदनले चाबहिलको जोसमणि मठ, गोपीकृष्ण हल नजिकैको ९ रोपनी, बालाजुको ९ रोपनी, गोलढुङ्गाको १५० रोपनी र सिन्धुपाल्चोकको ४०० रोपनी जग्गा तत्काल कोषमातहत ल्याउन कानुनी प्रक्रिया थाल्न सिफारिस गरेको छ।

पशुपतिनाथको नाममा रहेको जग्गामध्ये १ हजार १६१ रोपनी जग्गा ९९ वर्षका लागि त्रिभुवन विमानस्थल र गल्फ कोर्सलाई दिइएको छ भने तारागाउँ रिजेन्सी होटलले १७ रोपनी जग्गा भोगचलन गरिरहेको छ। विभिन्न समयमा जग्गा अधिग्रहण गर्दा मोही र जग्गाधनीलाई नियमविपरीत दोब्बर जग्गा दिएर कोषलाई ठुलो नोक्सानी पुर्‍याइएको प्रतिवेदनमा उल्लेख छ।

यस विषयमा कोषका वर्तमान सदस्यसचिव तीर्थ श्रेष्ठले आफू भर्खरै आएकाले आन्तरिक छलफल र अध्ययनपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय