काठमाडौँ :उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय बासिन्दा वर्षौंदेखि काकाकुलको नियति भोग्न बाध्य छन्।

राजधानीभरि वितरण गरिने मेलम्ची र वाग्मतीको पानी सुन्दरीजलमै प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा अझै खानेपानी आपूर्ति हुन सकेको छैन। मुहान क्षेत्रका बासिन्दा अहिले पनि ढुङ्गेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन्।

काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर क्षेत्रको खानेपानी समस्या तत्काल समाधान नभए मेलम्चीको पानी राजधानीमा आपूर्ति हुन नदिने चेतावनी दिएका छन्। उनले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रतिनिधिसँग बैठक गर्दै स्थानीय समस्या समाधानका लागि नयाँ वितरण प्रणाली बनाउन निर्देशन दिएका छन्।

कागेश्वरी मनोहराकी स्थानीय सावित्री सापकोटाका अनुसार १० लिटर पानीका लागि आधा घण्टा पैदल हिँडेर रुप्सेटार पुग्नुपर्ने र त्यहाँ पनि धारामा पालो पर्खिन दुई घण्टाभन्दा बढी समय खर्चनुपर्ने बाध्यता छ। गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले आफ्नै बजेटबाट पाइप बिछ्याएर केयुकेएललाई हस्तान्तरण गरे पनि पानी वितरण प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन्।

केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहले सुन्दरीजल क्षेत्रमा पञ्चायतकालमा निर्माण गरिएको पुरानो पाइपलाइनले अहिलेको जनघनत्व धान्न नसकेका कारण समस्या आएको बताएका छन्। अर्कातर्फ, सुन्दरीजलको पुरानो वाग्मती पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बौद्ध र अत्तरखेल क्षेत्रसम्म धमिलो पानी पुग्ने गरेको छ। स्थानीय नोर्साङ शेर्पाले धमिलो पानीका कारण लुगा धुने र नुहाउन समेत समस्या भएको गुनासो गरेका छन्। नागरिक समाजले एक दशकदेखि यो आवाज उठाए पनि सम्बन्धित निकायले अझै सुनुवाइ गरेको छैन।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय