काठमाडौँः जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको जोखिमबारे सचेत गराएको छ ।

हिरोसिमा शान्ति स्मारक पार्कमा आयोजित कार्यक्रममा करिब ५० हजार मानिस सहभागी भए । कार्यक्रममा करिब १२० देश तथा क्षेत्रका प्रतिनिधि उपस्थित थिए । सन् १९४५ अगस्ट ६ मा बिहान ८ः१५ बजे हिरोसिमामाथि आणविक बम खसालिएको समय सम्झिँदै एक मिनेट मौनधारण गरिएको थियो । हिरोसिमाका मेयर काजुमी मात्सुईले आणविक हतियारलाई सुरक्षा र प्रतिरोधको माध्यम मान्ने सोचले विश्वलाई फेरि ठूलो त्रासदीतर्फ लैजान सक्ने चेतावनी दिनुभयो ।

उहाँले आणविक हतियारविहीन विश्व निर्माणका लागि सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । जापानी प्रधानमन्त्री साने ताकाइचीले पनि आणविक हतियार प्रयोग नहुने विश्व निर्माणका लागि जापानले प्रयास जारी राख्ने बताउनुभयो । यद्यपि जापानको गैर–आणविक नीतिबारे देशभित्र बहस बढिरहेको छ । सन् १९४५ मा हिरोसिमामा खसालिएको आणविक बमबाट करिब १ लाख ४० हजार र तीन दिनपछि नागासाकीमा खसालिएको बमबाट करिब ७० हजार मानिसको मृत्यु भएको थियो ।

अहिले दुवै सहरका जीवित पीडितको सङ्ख्या घटेर करिब ९१ हजार पुगेको छ । उनीहरूले आगामी पुस्तालाई युद्ध र आणविक विनाशको वास्तविकता सम्झाइराख्नुपर्ने बताएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय