काठमाडौंः गृहमन्त्री सुधन गुरुङले सरकारले प्रश्न उठेपछि मात्र होइन, त्यसअघि नै आवश्यक काम गरिसक्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारीबारे उठेको ध्यानाकर्षण प्रस्तावमाथि सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक तथा मदनकुमारी शाह गरिमा, सोमनाथ पोर्तेल, पूजा चौधरी र पदमबहादुर परियार समर्थक रहेको प्रस्तावमाथिको छलफलमा बोल्दै गृहमन्त्री गुरुङले संसद्बाट प्राप्त हुने मार्गदर्शनअनुसार सरकार सधैँ क्रियाशील रहेको बताए । उनले यस विषयमा जवाफ दिन ढिलाइ भएको स्वीकार गर्दै भने, “जवाफ ढिलो भएको होला, तर जवाफभन्दा पनि अघि हाम्रो काम हुन्छ ।
काम धेरै अघि बढिसकेको छ र त्यसबारे विस्तृत जानकारी पनि दिनेछु।” यसअघि छलफलमा बोल्दै कांग्रेस संसदीय दलकी नेता कमला पन्तले मनसुन सकिन लाग्दा मात्र प्रस्तावमाथि छलफल भएको भन्दै व्यंग्य गरेकी थिइन् । उनले मन्त्रीले ‘मनसुन सकिन लागिसक्यो, यति ढिलो प्रस्ताव किन ल्याएको?’ भन्ने प्रतिक्रिया आउला कि भन्ने चिन्ता लागेको टिप्पणी गरेकी थिइन् ।






