काठमाडौं जिल्ला अदालतबाट ५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका आपराधिक पृष्ठभूमिका अभिषेक गिरीलाई लगत्तै मोरङ प्रहरीले पुनः पक्राउ गरेको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीलाई आपराधिक लाभ (क्रिमिनल एक्स्टोर्सन) सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। यसअघि काठमाडौंमा पक्राउ परेका उनलाई कानुनी प्रक्रिया पूरा गरी विराटनगर ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–८, मधुमाराका ४८ वर्षीय गिरीविरुद्ध निर्माण व्यवसायी सुभाष श्रेष्ठले रकम असुल गरेको आरोपमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा मोरङ प्रहरीले अनुसन्धान अघि बढाएको हो।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी तथा आपराधिक विश्वासघातको आरोपमा गिरीलाई गत असार २३ गते विराटनगरबाट पक्राउ गरेको थियो। त्यसअघि उनी मोरङ कारागारका कैदीबन्दीको भत्ता दुरुपयोग गरेको आरोपमा असार १३ गते पक्राउ परेका थिए। उक्त मुद्दामा जिल्ला अदालतले हाजिरीजमानीमा रिहा गर्न आदेश दिएलगत्तै सीआईबीले पुनः नियन्त्रणमा लिएको थियो।
सीआईबीको अनुसन्धानबाट गिरीले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्ष निकालिएको थियो। सोही प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले साउन १४ गते काठमाडौं जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दा दर्ता गरेको थियो।
उक्त मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटी रकम बुझाएर अदालतबाट छुटेलगत्तै मोरङ प्रहरीले अर्को मुद्दामा पक्राउ गरेको हो।
प्रहरीका अनुसार गिरीविरुद्ध मोरङमा दर्ता भएको आपराधिक लाभसम्बन्धी मुद्दामा थप अनुसन्धान जारी रहेको छ।






