काठमाडौँः प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले खाना पकाउने ग्यासको अभावबारे सरकारसँग जवाफ मागेका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले समेत ग्यास आयात कम भएको हो वा बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हो भन्ने स्पष्ट पार्न सरकारलाई आग्रह गरे ।
जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही दिनमा ग्यास आपूर्ति सहज हुने बताइन् । उनका अनुसार साउनदेखि पूरा सिलिन्डर वितरण सुरु भएपछि ग्यासको माग एकैपटक बढ्दा बजारमा असहजता देखिएको हो । मन्त्रीले अघिल्ला वर्षको तुलनामा नियमित माग धान्न सक्ने परिमाणमै ग्यास आयात र वितरण भइरहेको दाबी गरिन्। बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले आवश्यक समन्वय गरिरहेको उनले बताइन् ।
ग्यासको पर्याप्त आपूर्तिका लागि भारतसँग आयात कोटा बढाउन समेत माग गरिएको छ । तीन महिनाका लागि ग्यास आयातको कोटा ४९ हजार ५०० मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टन पुर्याउन परराष्ट्र मन्त्रालयमार्फत पहल गरिएको मन्त्री कुमारीले जानकारी दिइन् । उनका अनुसार देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन् । ग्यास नपाएको गुनासो तत्काल सम्बोधन गर्न नेपाल आयल निगमले क्विक रेस्पोन्स टिम गठन गरेको छ । साउन २१ गतेसम्म १६६ वटा गुनासो सम्बोधन गरिएको उनले बताइन् ।
मन्त्रीले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी सञ्चय नगर्न आग्रह गरिन् । साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला र विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउन बिक्रेता तथा डिलरहरूलाई निर्देशन दिइएको बताइन् ।






