८ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हिजोदेखि सुरु भएको पहिलो महाधिवेशनको बन्दसत्रको कार्यक्रम आजदेखि सुरु हुँदैछ ।
देशभरका विभिन्न जिल्ला, प्रवास, विभिन्न तहका कमिटीबाट झण्डैं ४१ सय प्रतिनिधि महाविधेशनमा सहभागी हुन आएका छन् । महाविधेशनको बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा सुरु हुँदैछ ।
अधिकांश प्रतिनिधिहरू हिजो नै महाधिवेशनस्थलमा आएका छन् । पार्टीको समन्वयमा आफैंले होटल खोजेर बसेका महाधिवेशन प्रतिनिधिहरूको खानपानको व्यवस्थापन भने आज बिहानबाट सुरु भएको छ ।
महाधिवेशनका प्रतिनिधिहरूलाई बिहान ब्रेकफास्ट, बिहानको खाना, दिउँसो हाइटी र बेलुकाको खानाको व्यवस्था रास्वपाले गरेको छ ।
प्रतिनिधिहरुलाई बिहान खसीको मासु र भात खुवाइने छ । ४१ सय प्रतिनिधि र अन्य सहभागीलाई बिहानको खानाका लागि मात्रै दैनिक झण्डै ८ क्विन्टल खसीको मासुको व्यवस्था गरिएको छ ।
बेलुका भने मिक्स भेज तरकारी खुवाइनेछ । दियालो फुडल्याण्ड क्षेत्रपुर नारायणगढले ३ दिनका लागि खानाको व्यवस्थापनको जिम्मेवारी लिएको छ ।
खाना र ब्रेक फास्टका लागि १५ वटा टेवल स्टल लगाइएका छन् । दुवैतिरबाट खाना लिन मिल्छ । जिरा राइस, दाल, तरकारी, अचार, सलाद, दही लगायतका आइटम राखिनेछन् ।
प्रतिनिधिहरुलाई खानाका लागि कुपनको व्यवस्था गरिएको छ । हरेक प्रतिनिधिसँग ५ हजार रुपैयाँ अधिवेशन शुल्क रास्वपाले उठाएको छ । प्रतिनिधिहरूले बास बसेको रकम भने होटलमा आफैं तिर्नुपर्नेछ ।






